काठमाडौं, 9 अप्रैल 2022
नेकपा एकीकृत समाजवादीले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार पार्टीले भृकुटिमण्डपमा आयोजना गरेको आमसभामा उनीहरुले नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनको सुरुवात गर्दै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउने प्रतिवद्धता जनाएका हुन् । आमसभालाई सम्बोधन गर्दै समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारीको नामको दुरुपयोग र जवजको मान्यतामाथि कुठाराघाट भइरहको आरोप लगाउनुभयो । उहाले गफाडीहरूलाई गफ गर्न दिनुपर्ने र आफुहरु प्रष्ट बिचारका साथ जनतामाझ जाने धारणा राख्नुभयो । अध्यक्ष नेपालले जनसेवाको पक्षमा दृढता साथ उभिन चाहेको भन्दै बोलेको कुरा पुरा गरेरै छाड्ने दावी गर्नुभयो । विभिन्न जिल्लामा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलिरहेको र पार्टी थप बिस्तार हुदै गएको उहाले बताउनुभयो । त्यस्तै समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समाजवाद नै भविष्य रहेको भन्दै यसका लागि नयाँ यात्रा सुरु गरेको जानकारी दिनुभयो । उहाले यसअघिको ओली नेतृत्वको ४२ महिने सरकारले फुटेको कौडी पनि गर्न नसकेको आरोप लगाउनुभयो । कार्यक्रममा समाजवादीका अन्य नेताहरुले कम्युनिष्ट आन्दोलनलाइ नयाँ ढंगले अघि बढाउनुपर्ने बेला आएको धारणा राखेका थिए ।









































