काठमाडौं, 14 अप्रैल 2022
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको शुभकामना सन्देश जारी गर्दै जनाउनु भएको छ। हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उनले आग्रह गर्नु भएको छ । ठूलो संख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गर्ननहुने उनको सन्देशमा उल्लेख छ । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा उनले आह्वानसमेत गर्नु भएको छ । प्रकृतिप्रदत्त स्रोतको दिगो व्यवस्थापन एवं उपयोगमार्फत वातावरणमैत्री आर्थिक विकासद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रयत्नशील हुनुपर्ने उनले सन्देशमा उल्लेख छ । विक्रम संवत् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम् अभ्यास भएको हुनाले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु सबैको जिम्मेवारी रहेको उनले बताउनु भएको छ । अन्त्यमा, नयाँ वर्ष २०७९ ले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति एवं कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनु भएको छ।









































