दिल्ली, 29 अप्रैल 2022
विगतमा नियमित उडान हुने गरेकोमा कोभिड–१९ का कारण नियमित उडान सेवा बन्द भएको थियो । कोरियामा कार्यरत नेपालीहरूले नेपाल–कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । त्यसयता लामो समयदेखि नेपाल–कोरिया/कोरिया–नेपाल उडान हुन सकेको छैन । कोरियामा रहेका विभिन्न राजनीतिक दलसम्बद्ध संघसंस्थाहरूले नेपाली राजदूतावासमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै नियमित हवाई सेवा सञ्चालनको व्यवस्था गरिदिन माग गरेका हुन् । कोरियास्थित नेपाली कांग्रेस जनसम्पर्क समिति, नेकपा एमाले प्रवासी मञ्च, नेकपा माओवादी केन्द्र जनप्रगतिशील मञ्च, एकीकृत समाजवादी प्रवासी एकता मञ्च, जसपा नेपाल निकट नेपाली समाज र राप्रपा प्रवासी नेपाली समाजले संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै कोरियामा रहेका ६० हजार नेपालीको सेवालाई ध्यानमा राखेर उडान नियमित गर्ने प्रबन्ध गरिदिन माग गरेका हुन् । त्यहाँ कार्यरत नेपालीहरूले केही निश्चित स्वार्थ समूहको कारण महँगो भाडादरको चार्टर उडानलाई प्रोत्साहन पुग्ने गरी नियमित उडान नखुलाइएको आरोप लगाएका छन् ।









































