काठमाडौं, 12 मई 2022
रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत बिहीबार लगनखेलको थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पु–याएपछि खुसीयालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ । किंवदन्ती अनुसार नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन् । त्यतिबेला रातो मच्छिन्द्रनाथलाई लगनखेल नपु–याउन्जेल पाटनवासी ढुक्क थिएनन्। जब पाटनमा पु–याए त्यसपछि उनीहरू खुसी भएका थिए। नरिवल खसाल्ने दिन रथको टुप्पोबाट योमरी पनि खसालिएको थियो। रथमाथिबाट खसालिएको नरिवल वा योमरी समात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ। थतिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि शुक्रबार बिहान ६ बजेअघि नै महिलाले रथ तानेर थतिचोक पुर्याउँदै छन् । नरिवल खसाल्ने जात्रा सकिएको पहिलो बिहीबार ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सकिन्छ ।









































