दिल्ली, 21 मई 2022
भारतको उत्तर प्रदेशको बहराइच जिल्लाको देहात कोतवाली क्षेत्रमा, शनिबार लखनउ–बहराइच राजमार्गमा, बस र पेट्रोल ट्याङ्कर, एक आपसमा ठोक्किँदा एक महिलासहित तीन नेपालीको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार, एक वरिष्ठ प्रहरी अधिकारीले यो जानकारी दिएका हुन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन् ।बहराइच–लखनउ राजमार्गको, ग्रामीण कोतवाली क्षेत्रको बन्जरी मोड नजिक, बिहान 6 बजे लखनउबाट नेपालतर्फ जाँदै गरेको, बस र पेट्रोल ट्याङ्कर ठोक्किएको, प्रहरी उपरीक्षक कुँवर ज्ञानञ्जय सिंहले जानकारी दिएका छन् । दुर्घटनामा तीन नेपाली अजय (40), राधा (48) र भरत थापाको घटनास्थलमै मृत्यु भएको छ र 11 जना घाइते भएका छन् । सिंहका अनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र चार जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ भने 7 जना सामान्य घाइते भएका छन् । बसमा 19 जना सवार रहेको उनले बताएका छन् । प्रहरीले मृतक सबैको पञ्चनामा भरी कानुनी कारबाही गरिरहेको छ । सिंहका अनुसार दुर्घटनामा परेको बस हरियाणामा दर्ता भएको र नेपालका एक व्यक्तिको रहेको र पेट्रोल ट्यांकर बहराइचको रहेको बताइएको छ । दुर्घटनामा परी घाइते भएका नेपाली युवा नयाँबहादुरले बसमा सवार सबै नेपाली रहेका रोजगारीको सिलसिलामा दिल्ली–एनसीआर पुगेको संचार माध्यम लाई बताए । नया बहादुरका अनुसार शुक्रबार दिल्ली छाडेका ती व्यक्ति शनिबार नेपाल पुग्ने भएका थिए । प्रहरी र जिल्ला प्रशासनका उच्च अधिकारी घटनास्थलमा पुगेका छन् । उनले घाइतेको अवस्था बुझ्न अस्पताल पुगेर उचित उपचारको व्यवस्था गर्न अस्पताल व्यवस्थापनलाई निर्देशन समेत दिएका छन् ।









































