काठमाडौं, 25 मई 2022
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल बिद्यालयहरुमा पुराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अहिलेसम्म छापिएका पाठ्यपुस्तक तत्काल बिद्यालयहरुमा पुराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले छाप्न बाँकी कामलाई तुरुन्त अघि बढाइ एक महिनाभित्र छापेर सवै बिद्यालयमा पुराउन पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिनुभयो । उहाले पाठ्यपुस्तक नपाउने समस्याको दीर्घकालीन समाधान खोज्न सुझाव दिनुभयो भने पाठ्यपुस्तक बितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने सुझाव दिनुभयो । बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले कागज अभावका कारण समयमा नै पाठ्यपुस्तक छपाई कार्यमा समस्या भएको जानकारी दिनुभयो । असारको पहिलो हप्तासम्म देशभरका बिद्यालयमा पुराउने दावी गर्नुभयो । स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपर्ने भएकाले र रुस–युक्रेन युद्धका कारण किताब छाप्ने कागज आइनपुगेको उहाको भनाई छ । बैठकमा समिति सदस्य योगेश भट्टराईले शैक्षिक सत्र सुरु हुने भन्दा निकै अगाडी देखि नै पाठ्यपुस्तक छपाईको काम सुरु गर्नुपर्ने सुझाव दिनुभयो । हरेक बर्ष पाठ्यपुस्तक अभावको समस्या समाधानको दिर्घकालिन समाधान खोज्नुपर्ने उहाको भनाई छ । त्यस्तै समिति सदस्य चित्रलेखा यादवले पाठ्यपुस्तक अभावका कारण सार्वजनिक बिद्यालयको शिक्षाको गुणस्तरमा समेत असर पर्ने धारणा राख्नुभयो । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमीला देवी बज्राचार्यले कागजको समस्या कारण नै समयमा पाठ्यपुस्तक छपाई गर्न नसकेका भन्दै यसको समाधानमा मन्त्रालय लागिरहेको जानकारी दिनुभयो ।









































