काठमाडौं, 28 मई 2022
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि केहि कानूनमा सुधार गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा माग लिदै थापाले नीति तथा कार्यक्रममा उल्लेख भएजस्तै स्थानीय तहलाई प्रभावकारी बनाउन तत्काल कानूनको सुधार गर्नुपर्ने बताउनुभएको हो । त्यस्तै उहाले अर्थतन्त्र समस्यामा पर्न थालेको उल्लेख गर्दै व्यापार घाटा लगाएतका बिषय पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने उल्लेख गर्नुभयो । उहाले किसानले मल पाउने समस्या अझै समाधान नभएकाले यसप्रति ध्यान दिन सुझाव दिनुभयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परेको चापलाई सम्बोधन गर्न सरकारले उपभोक्तालाई पनि राहत दिनेतर्फ लाग्नुपर्ने थापाको भनाइ छ । त्यस्तै उहाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीको भनाई कुण्ठा मात्र भएको बताउनुभयो । छलफलमा भाग लिदैं एमालेका सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम आर्थिक सङ्कटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रीत नभएको आरोप लगाउनुभयो । सरकारले अर्थतन्त्रमा ध्यान दिएको छैन भनेर भ्रम छरेको उहाको भनाई छ । उहाले मौद्रिक र वित्तीय नीतिबीच तालमेल नभएको, नियामक निकायमाथि हस्तक्षेप गरिएको आरोप समेत लगाउनुभयो । उहाँले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषयलाई हावादारी भएको टिप्पणी गर्नुभयो ।









































