काठमाडौं, 31 मई 2022
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । काठमाडौँ ल्याएका शबहरु त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शबहरुलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नै विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको छ । आइतबार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो । पोखराबाट आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।









































