काठमाडौं, 13 जून 2022
संसदीय समितिले आसन्न अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेर बहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको प्रतिनिसिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आगामी असार ५ गते अमेरिका भ्रमणका बारेमा लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन एमालेले माग गरेको थियो । त्यस्तै बैठकले नेपालको परराष्ट्र नीतिका बारेमा छलफल गर्न असार ३ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई समितिमा बोलाउने निर्णय गर्दै यसका लागी पत्राचार गरिने समिति सभापति पबित्रा निरौलाले जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले प्रधानमन्त्रीको अमेरिका भ्रमणका बोरमा अनेक आशंका पैदा भएको भन्दै सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए । सांसद माधव कुमार नेपालले नेपालको परराष्ट्र मामिलामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो । त्यस्तै सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापनमा नै प्रश्नचिन्ह उठेको बताउनुभयो । उहाले अमेरिकामा बिभिन्न सहमति हुने चर्चा सुनिएको भन्दै प्रष्ट हुनुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै सांसद भीम रावलले समितिमा जानकारी गराउदा प्रधानमन्त्रीले अपमानका रुपमा सोच्न नहुने बताउनुभयो ।बैठकमा अन्य सदस्यहरुले मुलुकको राष्ट्रियतालाई मध्यनजर गर्दै नेपालको परराष्ट्र नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।









































