काठमाडौं, 15 जून 2022
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) नेपालको असंलग्न परराष्ट्र नीति विपरित रहेको बताउनुभएको छ । बुधबार प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई लैजाने गलत काम हुन लागेको भन्दै कुनैपनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको बताउनुभएको हो । नेपाली सेनाको सहकार्यको बहाना बनाएर कुनै पनि देशको सैन्य हस्तक्षेप स्वीकार्य नहुने उहाको भनाई छ । त्यस्तै उहाले नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने गठबन्धनको रणनीति भएको आरोप लगाउनुभयो । गठबन्धन सत्ताको स्वार्थको बिषय बन्न सक्ने तर देश बिकासको बिषय बन्न नसक्ने एमालेको मान्यता रहेको उहाले बताउनुभयो । उहाले एमालेको नेतृत्वमा नै मुलुकको बिकास हुने भएकाले पार्टीलाई बलियो बनाउदै अघि बढ्ने तर्क गर्नुभयो ।









































