काठमाडौं, 18 जून 2022
उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार तथा सूचना प्रविधिको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशन नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको डिजिटल नेपाल कम्क्लेभ विषयक कार्यक्रममा उहाँले आइसिटी क्षेत्रको तीव्र विकासका निम्ति राज्यले योजनाबद्ध रुपमा कार्य अघि बढाउनुपर्ने बताउनुभएको हो । उहाले सरकारले सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवर्कको सपना पूरा गर्ने लक्ष्यअनुरूप गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । इन्टरनेटका माध्यमबाट जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने भन्दै उहाँले सुशासनसँगै पूर्णरुपमा डिजिटल गर्भमेन्ट हुनुपर्ने जोड दिनुभयो । उहाँले तत्कालका लागि विश्वमा विकसित भएका विज्ञान प्रविधिको उच्चतम प्रयोगबाट नै कार्य सम्पन्न गर्दै त्यसलाई नेपालका सबै शहर र गाउँसम्म पु¥याउन तीनै तहका सरकारको सक्रियता हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको समयानुकूल विकाससँगै दुई वर्षभित्र कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको बताउनुभयो । सरकारले देशको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सूचना प्रविधि र सञ्चार प्रविधिको विकाससँगै शासकीय सुधार र सुशासनको अभिवृद्धिलाई विशेष जोड दिएको उहाँको भनाइ छ । आइतबारसम्म सञ्चालन हुने सो कार्यक्रममा नेपालको सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यान्वयनको विश्लेषण र भावी कदमबारे छलफल हुने बताइएको छ ।









































