काठमाडौं, 20 जून 2022
युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले खेल र खेलाडीको क्षेत्रको बिकासका लागि सरकार सदैव अग्रसर गरेको बताउनुभएको छ । सोमबार काठमाडौंमा अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेलकुदलाई सिंहदरबारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि आफू लागेको र खेल र खेलाडीको क्षेत्रको बिकासका लागि सरकार सदैव अग्रसर गरेको बताउनुभएको हो । उहाले मुलुकको खेलकुद क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउनका लागि सवैको ध्यान केन्द्रीत हुनुपर्ने जिकिर गर्नुभयो । खेलकुदमा फुटबल तर्फका पूर्वाधारहरु निर्माणमा सरकारले विशेष महत्व दिएको भन्दै खेलकुदमा लगानी गर्नका लागि सरकार सधैं प्रयत्नशील रहने उहाले बताउनुभयो । मन्त्री गहतराजले नेपाली फुटबललाई बलियो बनाउनका लागि साहस पैदान गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियामा फुटबलको स्थितिलाई बलियो बनाउन एन्फाले ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो । एन्फाको संगठन मात्र भएर नपुग्ने र यसको कार्यदिशा पनि राम्रो हुनुपर्ने उहाको भनाई छ । त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रलाई बलियो बनाउनका लागि एन्फाले धेरै नयाँ कार्यक्रमहरु ल्याएको जानकारी दिनुभयो । उहाले खेलाडीको अभिबृद्धि गर्नका लागि पनि धेरै काम गरिएको दावी गर्नुभयो । कार्यक्रममा राखेपका उपाध्यक्ष शिब कोइरालाले खेलकुदको शिर उच्च बनाउनका लागि राखेप सधै प्रयास गर्ने धारणा राख्नुभयो ।









































