दिल्ली, 29 जून 2022
भारतले रक्सौल नाकाबाट कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको छ। सडक यातायातको माध्यमबाट हुने व्यापारका लागि नेपाल र भारत दुवै तर्फ एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको चार वर्ष नाघिसकेको छ । अझ रेल लिंक समेत जोडिएको सिर्सिया सुख्खा बन्दरगाह त २०६१ सालदेखि नै सञ्चालनमा छ । तर दुवै भन्सार यार्डमा धुलोजन्य औद्योगिक कच्चा पदार्थ (डस्टी कार्गो) व्यवस्थापन गर्ने स्थल छैन । जसले गर्दा उद्योगी तथा आयातकर्ताहरुले विभिन्न समयमा डस्टी कार्गो आयातमा समस्या भोग्दै आएका छन् । औद्योगिक कच्चा पदार्थ आइरन ओर, सिमेन्ट, कोइला, जिप्सम, स्लेग रक्सौलसम्म रेलमा र त्यसपछि ट्रकबाट वीरगञ्ज-रक्सौल नाका हुँदै नेपाल ल्याउने गरिएको छ । साल्ट ट्रेडिङले नुन र मल पनि यसैगरी ल्याउँछ । केही मात्रामा पेट्रोलियम पदार्थ पनि पुरानो भन्सार नाका अर्थात मितेरी पुल, शंकराचार्य गेट हुँदै ल्याइन्छ । तर १ जुलाई २०२२ देखि रक्सौल भन्सारले त्यसमा रोक लगाउने भएको छ । रक्सौल ल्याण्ड कस्टम (एलसीएस)को डेपुटी कमीसनर पिंकी कुमारीले सूचना जारी गर्दै त्यस्तो जानकारी गराएकी हुन् । उनले जारी गरेको सूचनामा १ जुलाईदेखि रक्सौलस्थित रेल्वे साइडिङमा आउने सामान रक्सौल बोर्डर (मितेरी पुल) मार्फत नेपाल निर्यातमा रोक लगाउने उल्लेख छ । अबदेखि रक्सौलको मुख्य बजारबाट आईसीपी रक्सौल हुँदै नेपाल लैजानुपर्ने उनको भनाइ छ । त्यसका लागि पनि राति ९ बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ । रक्सौलबाट निकासीका लागि पठाइएका सामानहरू र इन्डियन आयल कर्पोरेशनका तेल भरेर आएका ट्याङ्करहरु समेत सोही मार्ग हुँदै लैजानुपर्ने उल्लेख छ । १ जुलाईपछि ढुवानी बिलहरू एलसीएस पोर्ट कोड अन्तर्गत दर्ता नगरिने अर्थात जाँचपास नगर्ने पनि डेपुटी कमीसनर पिंकी कुमारीले जारी गरेको सूचनामा उल्लेख छ । वर्षौंदेखि रक्सौलको रेल्वे साइडिङमा नै धुलोजन्य औद्योगिक कच्चा पदार्थ आयात भइरहेको थियो । रक्सौल ल्याण्ड कस्टम र वीरगञ्ज भन्सार कार्यालय मार्फत जाँचपास भई सोही रुट भएर ढुवानी हुँदै वीरगञ्ज ल्याइन्थ्यो र देशका विभिन्न स्थानमा पठाउने गरिएको थियो । अबदेखि धुलोजन्य पदार्थको ढुवानी र भन्सार जाँचपास रक्सौल लक्ष्मीपुर र श्रीसियाको एकीकृत जाँच चौकी (आईसीपी) मार्फत मात्र गर्न पाइने भएको छ ।









































