दिल्ली, 1 जुलाई 2022
आफू अख्तियारको इन्स्पेक्टर भएको भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको विभिन्न नाकामा गई भारतबाट नेपाल आउने विभिन्न व्यक्तिहरूसँग रकम उठाउँदै गरेका एक व्यक्तिलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। जलेश्वर नगरपालिका–१२, थरुवाहीनिवासी ३० वर्षीय रवि ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। भारतबाट पसलको सामान ल्याउने साना व्यवसायी तथा तथा घरायसी प्रयोजनका लागि भारतबाट सामान ल्याउने व्यक्तिहरूसँगसमेत रकम असुल गर्ने गर्थे। सशस्त्र प्रहरीको बिओपी जलेश्वरका इन्चार्ज प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले नाकामा अख्तियारको इन्स्पेक्टर बनेर विगत केही दिनदेखि एक व्यक्तिले यात्रु ठगिरहेको सूचना पाएपछि उनको कमान्डमा गएको पाँचजनाको टोली र प्रहरी चौकी नैन्हीबाट असई प्रभुनारायण यादवको टोलीले ठाकुरलाई रंगेहात पक्राउ गरेको हो । प्रहरी टोलीलाई देख्नासाथ भारतको नौबाही र नेपालतर्फको नैन्हीस्थित नाकामा पैसा उठाइरहेका ठाकुर भागेपछि उनलाई पछ्याएर पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वाटर महोत्तरीले जनाएको छ ।
उनीसँगै लोहारपट्टीको भ्रमरपुरानिवासी थप दुईजनालाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । पक्राउ परेका ठाकुरसँग उनकै नाममा रहेको नेपालका विभिन्न कागजातसहित भारतको आधार कार्ड र प्यान कार्डसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । ठाकुरले विगत केही समयदेखि महोत्तरीको सम्सी, भिठामोड, इटहर्वा, कट्टी, नैन्हीलगायतका विभिन्न नाकाबाट रकम उठाउने गरेको बताइएको छ ।









































