दिल्ली, 18 जुलाई 2022
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्यदक्षिण क्षेत्रीय समितिको छैटौँ क्षेत्रीय सम्मेलन हैदरावादमा सम्पन्न भएको छ । 16 जुलाई शनिबारदेखि उद्घाटन र बन्दशत्र सम्पन्न भई जुलाई 17 आइतबार सम्मेलनको घोषणासभा सम्पन्न भएको हो । नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार घोषणासभालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गरेका थिए ।
सम्बोधनको क्रममा उहाँले मूल प्रवाहमा लागेका नेपाली मजदुरले सामाजिक काम मात्रै होइन, देशभित्र चल्ने जनतान्त्रिक आन्दोलनमा प्रत्यक्ष रूपमा सरिक भै त्यसको नेतृत्वसमेत गर्न सक्ने नेताहरू उत्पादन गरेको बताउनुभयो । सम्बोधनको क्रममा उहाँले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूको प्रतिगमनकारी भूमिका रहिरहेकै बेला वामपन्थी शक्तिबाट पनि अहिलेको गणतन्त्रमाथि हमला भइरहेको उहाँले बताउनुभयो । अध्यक्ष केसीले अब नेपालको चुनाव सर्वसाधारणले जित्नै नसकिने भइसकेको बताउनुभयो । ‘जसले पैसाको खोलो बगाउन सक्छ, चुनाव उसैको पोल्टामा पर्छ’ उहाँको भनाइ थियो ।
सम्मेलनको घोषणासभामा वामपन्थी नेता आनन्द शर्मा, मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय समितिका भीमबहादुर थापा, फूलबिना पौडेल, कृष्णबहादुर थापा, रनबहादुर पौडेल, भाकपा (माले) रेड-स्टार-का सैदुलु, नेपाली जनसम्पर्क समितिका तीर्थ कुँवर, प्रवासी नेपाली जनसमाजका प्रेम बजगाई, प्रवासी नेपाली एकता मञ्चका भीमबहादुर थापालगायतका अतिथिहरूले बधाई मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन तिलक रानाले गर्नुभएको थियो भने अध्यक्षता रतन सिंहले गर्नुभएको थियो । सम्मेलनले रामप्रसाद पौडेल अध्यक्ष रहनुभएको 25 पूर्ण, आठ वैकल्पिक र आठ सल्लाहकारसहितको 41 सदस्यीय मूल प्रवाहको मध्यदक्षिण क्षेत्रीय समिति चयन गरेको छ ।









































