काठमाडौं, 20 जुलाई 2022
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा फुटाउन केपी शर्मा ओलीको हात रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै नेपालले नेकपालाई ओलीले एकलौटी रूपमा कम्पनीझैं गरी चलाउन खोजेपछि आफूहरू एकठाउँमा बस्न नसकेको बताएका हुन् । नेकपाका तत्कालीन अध्यक्ष ओलीप्रति लक्षित गर्दै उनले भने, ‘ सरकारमा पनि आफ्नो आदेश पालना गर्नेलाई मात्र मन्त्री बनाउने काम भयो । बहुमत पुग्दैन कि भनेर पार्टीको बैठक नै बोलाइएन ।’ त्यस्तै नेपालले दुई-दुई पटक प्रतिनिधिसभा विघटन हुँदा पार्टी र देशलाई नै नोक्सान पुगेको पनि जनाए । ‘संसद् नै भंग गरेर जबर्जस्ती देशलाई चुनावमा होम्न खोजियो । राज्यका निकायहरूलाई दुरुपयोग गरी चुनाव जित्ने प्रपञ्च रचियो । लोकतन्त्र र संविधान बचाउनका लागि हजारौँ नागरिक सडकमा उत्रिए । सर्वोच्चको फैसलापछि दोस्रो पटक पनि संसद् विघटन भयो,’ नेपालले भने । ‘ओलीले यसम्यानहरूलाई सामेल गरेर एकलौटी विधान संशोधन गर्नुभयो । एकलौटी कारबाही गरेपछि हामीलाई ‘तथास्तु’ र ‘आममाफी’ भयो भन्ने काम भयो । त्यसपछि कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी रहेन त्यसमा राजामहाराजाहरूको गन्ध देखिन थाल्यो । नेकपा फुटाउन ओलीले नै भूमिका खेल्नुभयो,’ उनले भने । अध्यक्ष नेपालले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग गर्ने सर्वोच्च अदालतको फैसला गलत भएको बताए । २०७५ जेठ ३ गते माओवादी र एमालेबीच एकीकरणपछि नेकपा पार्टी बनेको थियो । एकीकरणको तीन वर्षमै सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा खारेज गरेपछि एमाले र माओवादी साविककै पार्टी कायम हुन पुगेको थियो ।









































