दिल्ली , 21 जुलाई 2022
भारतको उत्तर प्रदेशमा अपराधी विरुद्ध, प्रहरीको कारबाहीमा एक नेपाली बदमाश पक्राउ परेका छन। प्रहरीको कारबाही चलिरहेको बेला 25 हजारको इनामी बदमाश लाई प्रहरीले पक्राउ गरेको हो। बुधबार मुजफ्फरनगर जिल्लाको शुक्रतालमा सवारी चेकिङ अपरेसन गरिरहेको बेला राति अबेरसम्म भोपा थाना प्रहरी र बदमाश हरूबीच मुठभेड भएको थियो । मोटरसाइकलमा सवार एक युवकलाई प्रहरीले रोक्न संकेत गरेपछि बदमाशले प्रहरी टोलीमाथि गोली हानेर भाग्न खोजेका थिए । तर प्रहरीले घेराबन्दी गर्दा जवाफी कारबाही गर्दा गोली बदमाशको खुट्टामा लागेको थियो र उनी घाइते भएर भुइँमा लडेका थिए । घाइते बदमाशलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनको साथबाट प्रहरीले एक थान पेस्तोल, कारतूस र मोटरसाइकल बरामद गरेको छ । प्रहरीको सोधपुछमा बदमाशले बेतडी जिल्ला (नेपाल) निवासी गौरव नेपाली रहेको बताएको छ । उनी हाल भोपा थानाको मोरना गाउँमा बस्दै आएका थिए । प्रहरीका अनुसार 6 जुलाई मोरनामा फाइनान्सर प्रवीणको हत्यामा पक्राउ परेका गौरव नेपाली मुख्य अभियुक्त थिए, जसमाथि 25 हजार रुपैयाँ पुरस्कारको घोषणा पनि गरिएको थियो । प्राप्त जानकारीका अनुसार मृतक प्रवीणकी श्रीमती स्वीटीको गौरव नेपालीसँग अवैध सम्बन्ध थियो जसको मृतक प्रवीणले विरोध गरेका थिए । यो घटनाले परेशान भएर प्रवीणले केही जग्गा बेचेर मोर्ना सहरमा भाडाको घरमा बस्न थालेका थिए । प्रवीण आफ्नो बाँकी जग्गा र घर पनि बेच्न चाहन्थे, जसको उनकी श्रीमती स्वीटीले विरोध गरि रहेकी थिइन् । घर जग्गा बेच्न नदिन स्विटीले प्रेमी गौरव नेपालीसँग मिलेर श्रीमानको हत्या गर्ने षड्यन्त्र रचेकी थिइन् । त्यसपछि गौरव नेपालीले भाडामा लिएका सुटरहरूमार्फत उक्त घटना गराएका थिए ।









































