काठमाडौं , 22 जुलाई 2022
राष्ट्रिय जनमोर्चाले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् भनेर सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा नागरिकता दिन नहुने बताएकी छिन् ।
जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले आजको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन्, ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ, यसमा दुई मत छैन । तर इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी त्यस्तरी नागरिकता वितरण गर्न भएन ।’
उनले नेपालीसँग बिहे गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनैपर्ने बताइन् । ‘अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति पर्छ,’ उनले भनिन्, ‘अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र मानिंदैन ।’









































