काठमाडौं, 23 जुलाई 2022
नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहेका थिए । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि शुक्रबार भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए ।
गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको जनाए। खाँणले वैवाहिक अंगीकृतका विषयमा दलीय सहमति जुटाएर अघि बढाउन सक्ने बताए ।
प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयक राष्ट्रियसभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।









































