काठमाडौं, 23 जुलाई 2022
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरूले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गरे । अध्यक्ष ओलीले मजदुर वर्गपक्षीय विचारका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिले नै गराएको बताए । मजदुर वर्गपक्षीय शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणामस्वरूप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उनको तर्क थियो । ओलीले मजदुर वर्गको हितका लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल: सु:खी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोर्याए । आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा पर्यो । यो गठबन्धन के हो ? यो गठबन्धन, यस्ता गठबन्धन, हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराइयो, गरियो । यही अहिले मैले भनेका मजदुर वर्गपक्षीय विचारहरु, मजदुर वर्ग पक्षीय हितहरु, मजदुर पक्षीय संगठनहरु, संस्थाहरु, मजदुर वर्ग पक्षीय आन्दोलनहरु, तीनलाई कमजोर पार्ने प्रयासहरु । किनभने अन्तिममा समृद्ध नेपाल: सु:खी नेपालीको गन्तव्य कसको हो त ?’









































