काठमाडौं, 25 जुलाई 2022
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वैवाहिक अंगीकृत नागरिकता लिन चाहने विदेशी महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा राष्ट्रिय सभा सदस्य गौतमले वैवाहिक अंगीकृत नागरिकता लिनुअघि आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने बताएका हुन् । उनले यस्तो प्रक्रिया पूरा गरेपछि मात्रै नागरिकता प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे । नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर ठीक गरेको भए पनि कतिपय प्रावधानहरू सच्याउनुपर्ने उनको भनाइ थियो ।









































