दिल्ली, 26 जुलाई 2022
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलनको उद्घाटन समारोह तामिलनाडु राज्यको राजधानी चेन्नईमा सम्पन्न भएको छ । प्रमुख अतिथि राजमो अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनको उद्घाटन गर्नुभएको हो । उद्घाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष केसीले अहिले देशको राष्ट्रियता गम्भीर अवस्थामा पुगेको बताउनुभयो । उहाँले प्रतिनिधिसभाबाट पास गरिएको नागरिकता विधेयकले अब नेपालमा नेपाली नै अल्पमतमा पर्ने अवस्था आएको केसीले बताउनुभयो। लाखौँ भारतीयलाई बंशजको नेपाली नागकिरता दिने गरी नागरिकता विधेयक ल्याइएको भन्दै उहाँले यसले देशलाई फिजी हुँदै सिक्किमीकरण गर्ने खतरा बढेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका नेता आनन्द शर्माले लोकतन्त्र र राष्ट्रियताको आन्दोलनमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहने गरेको भन्दै राष्ट्रियता रक्षाका लागि स्वदेश विदेश सबैतिर बस्ने नेपाली जाग्नुपर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय सदस्य भगवती कुँवर लगायतका अतिथिहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । चन्द्र बहादुर थापाको अध्यक्षता र धर्मराज शर्माको सञ्चालनमा भएको कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कुल बहादुर थापा, कोषाध्यक्ष मदन शर्मा, राजमो केन्द्रीय सदस्य मञ्जु परियार, राजमो प्रदेश नं 2 का अध्यक्ष सेर बहादुर कार्की, मूल प्रवाह केन्द्रीय सदस्य चोबनाथ शर्मा, जनकराज पौडेल, भगवती कुँवर, केशमान नेपाली र नरेश कुमार बिक तथा केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माको पनि सहभागिता रहेको थियो । सम्मेलनले चन्द्र बहादुर थापा (चेन्नई पूर्व)को अध्यक्षतामा 31 पूर्ण 10 वैकल्पिक र 10 सल्लाहकार गरि 51 सदस्यीय दक्षिण भारत क्षेत्रीय समिति चयन गरेको छ । उपाध्यक्षः दशरथ बिक (बैंगलोर दक्षिण), सचीवः जनकराज शर्मा (पाण्डेचेरी), सहसचीवमा धर्मराज शर्मा (कोट्टायम) र कोषाध्यक्षमा लोकेन्द्र पौडेल (चेन्नई दक्षिण) लगायत 36 सदस्य चयन भएका छन् । प्रथम बैठकले परमानन्द खडायत (बैंगलोर दक्षिण) ओमबहादुर दाहाल (बैंगलोर उत्तर), घनश्याम शर्मा (तिरुवनन्तपुरम), जनक बिसी (कोचिन), मिनबहादुर थापा (चेन्नई दक्षिण), नेत्रलाल शर्मा (चेन्नई पश्चिम), मोहराज शर्मा (सिताम्बरम), खगेश्वर सुनार (पाण्डीचेरी), बाबुराम केसी (कोचिन) र डिल बहादुर बस्याल (नेल्लोर) लाई सल्लाहकार चयन गरेको छ । चन्द्रबहादुर थापा, जनकराज पौडेल, लोकेन्द्र पौडेल, कासीराम शर्मा र डिल्लीप्रसाद शर्मा रहनुभएको सचिवालय पनि गठन गरिएको छ । नवनिर्वाचित समितिको घोषणा मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नुभएको थियो ।









































