दिल्ली, 30 जुलाई 2022
अमेरिकी कम्पनी कोकाकोलाले ६१ वर्षपछि पहिलो पटक स्प्राइटको रङ्ग फेर्ने भएको छ । हरियो बोतलमा आउने स्प्राइटको बोतल अब सेतो रङ्गमा आउने भएको हो । सन् १९६१ मा पहिलो पटक अमेरिकाबाट उत्पादन शुरु भएको स्प्राइट आगामी सोमबार १ अगस्तदेखि सेतो रङ्गमा बेचिने भएको छ । गत २७ जुलाइमा जारी गरेको एक बयानमा कोकाकोलाले उक्त घोषणा गरेको हो । कम्पनीले पर्यावरणप्रति जिम्मेदार बन्ने प्रयास स्वरुप हरियो रङ्गको प्रयोग नगर्ने जनाएको हो । अब स्प्राइटमात्र नभइ कोकाकोलाका कुनै पनि उत्पादनमा सफा सेतो रङ्गकै मात्र प्रयोगमा आउने भएको छ । कोकाकोलाले यसको शुरुआत उत्तरी अमेरिकादेखि गर्ने पनि जनाएको छ । विस्तारै विश्वभर यो कदम चालिने पनि उसले बयान दिएको छ । सन् २०१९ देखि नै यो अभियान थालिएको हो । त्यतिबेलादेखि फिलिपिन्सले यो अभियान थालेको हो । कुनै पनि रङ्गको बोतल एक पटक प्रयोग गर्नका लागि मात्र हुने दाबी गरिएको छ । दोस्रो पटक यसको प्रयोग हानिकारक हुन्छ । सन् २०२० मा आएको पर्यावरण फर्म ‘ब्रेक फ्री फ्रम प्लाष्टिकको रिपोर्टअनुसार कोकाकोला विश्वकै सबैभन्दा बढी प्लाष्टिक प्रदूषण फैलाउने ब्राण्ड घोषित भएको थियो । स्प्राइट विश्वकै तेस्रो सबैभन्दा बढी बिक्री हुने पेय पदार्थ हो । त्यस्तै कोकपछि कोकाकोलाको दोस्रो सबैभन्दा बढी बिक्री हुने सफ्ट ड्रिंक पनि हो । यसले सन् २०३० सम्म विश्वबाट सबै हरिया बोतल विस्थापित गर्ने दाबीसमेत गरेको छ ।









































