30 जुलाई 2022
पहाडी जिल्लाबाट तरकारी बोकेर भारततर्फ आउँदै गरेको ट्रकबाट 6 बोरा गाँजा बरामद भएको छ । शुक्रबार राति संखुवासभाबाट बन्दागोभी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बि-ओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले 156 किलो(6 बोरा) गाँजा बरामद गरेको हो । बन्दागोभी बोकेर भारततिर आउन् लागेको प्रदेश 1-02- 001 ख 8677 नम्बरको ट्रक चेकजाँचको क्रममा शुक्रबार राति 6 बोरा गाँजा भेटिएको सशस्त्र प्रहरीले बताएको छ । गाडीमा 46 बोरा बन्दागोभी र 6 बोरा गाँजा थियो । गाँजासहित पक्राउ परेका ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका 3 का 29 वर्षीय विवेक राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी बुझाएको सशस्त्र प्रहरीले बताएको छ । प्रहरीका अनुसार सङ्खुवासभाबाट बन्दागोभी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा राखिएको थियो । धनकुटाको सहिदभूमी गाउँपालिकामा पर्ने छिन्ताङ र खोकु सुन्तला र गाँजा खेतीका लागि उर्वरा क्षेत्र मानिन्छ । यहाँ उत्पादन हुने गाँजा कोसी नदीको किनार हुँदै तराई झारेर भारततर्फ तस्करी हुने क्रम बढ्दो छ ।









































