काठमाडौं, 12 अगस्त 2022
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताएका हुन् । गहतराजले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनको लागि रगत बगाउनु पर्ने अवस्था नभएको बताए । उनले अब युवाहरुको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धिको बनाउनु भएको उल्लेख गरे । उनले भने, ‘युवाहरुले देशलाई सुखी र समृद्धि विकासको गतितिर दिशा दिने नयाँ अभिभारा युवाहरुको काँधमा छ । युवाहरुले अब राजनीतिक परिर्वतनको आन्दोलनका लागि पसिना र रगत बगाउनुपर्ने ठाउँमा छैनौं । अब युवाहरुको जिम्मेवारी र दायित्व भनेको देशको विकास समृद्धिको बनाउने नयाँ युवा पुस्ताको अगाडि रहेको छ ।’ मन्त्री गहतराजले मुलुकलाई समृद्ध बनाउने अभिभारा अहिलेका युवा पुस्ताले आत्मसाथ गरेर अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताए । उनले अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्व गर्दै युवाहरुले समृद्धको चरण पार गर्नुपर्ने बताए ।









































