काठमाडौं, 16 अगस्त 2022
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले महिलाहरूको राजनीति प्रशंसनीय रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका थिए । महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने उनको भनाइ थियो । ‘महिलाले राजनीति नगरे आधा समाजले राजनीति गर्दैन । आधा समाजले राजनीति नगरे आधा समाज पछाडि पर्छ । महिलाले जस्तो भूमिका खेलेका छन् त्यो असाधारण छ । उच्च प्रशंसा गर्न चाहन्छु ।’पछिल्लो समय राजनीतिप्रति घृणा पैदा भएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले सुद्ध राजनीति गर्नुपर्ने बताएका थिए । राजनीति देश बनाउने कुरा भएकाले यसलाई घृणा गर्न नहुने उनको भनाइ थियो । उनले राजनीतिमा महिलाहरूको भूमिकाबारे प्रशंसा गरेका थिए । राणा शासनमा नै महिलाहरूले समाजमा जागरण ल्याउने भूमिका खेलेको स्मरण गर्दै उनले महिलाहरूको भूमिकाप्रति प्रशंसा गरेका थिए । साथै उनले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने र महिलाहरू राजनीतिमा सहभागी हुनुपर्ने सुझाव दिएका थिए ।









































