काठमाडौं, 18 अगस्त 2022
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उपमहासचिव ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको सो विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसरको रुपमा लिन पनि सत्तापक्षलाई आग्रह गरे । उनले भने, ‘नागरिकताजस्तो संवेदनशील विषयलाई व्यवस्थित गर्न बनेको विधेयकमाथि यो महत्वपूर्ण दस्तावेजमा सुधार गर्ने एउटा महत्वपूर्ण अवसर सम्माननीय राष्ट्रपतिज्यूको सन्देशले दिएको छ । यसलाई यो सदनले गम्भीरतापूर्वक लियोस् । अधिकतम सदुपयोग गरोस भन्ने म आग्रह गर्न चाहन्छु ।’ उपमहासचिव ज्ञवालीले संसदमा विचाराधीन सो विषयलाई सत्तारुढ गठबन्धनले जस्ताको तस्तै राष्ट्रपतिलाई फिर्ता पठाउने निर्णय गरेको संसद र यसको गरिमाको धज्जी उडाएको आरोप पनि लगाए ।









































