काठमाडौं, 18 अगस्त 2022
नेकपा एमालेका सांसद भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य नहुने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि नहुने भन्दै संविधानअनुसार चल्न सरकारलाई आग्रह गरे । उनले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएकाहरुको छानबिन गर्न र नपाउने नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने बताए ।
‘नागरिकता नपाउने को हुन्? कतिले पाएका छैनन् र कतिले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन् त्यसको छानबिन गरौँ। कतिले पाएका छैनन् बल्ल थाहा हुन्छ’, उनले भने, ‘नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने तर्क कसरी गलत हुन्छ? यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट चिरकाल नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क हो।’
उनले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने दाबी गरे। गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क भएको दाबी गरे। उनले संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधान विरोधी काम गरिरहेको आरोप लगाए। सांसद रावलले संविधान भन्दा गठबन्धनले गरेका निर्णयहरु हुने भए राजतन्त्र किन समाप्त गरेको? भन्दै प्रश्न गरे। ‘७ वर्षसम्मको अवधि तोक्ने कुरा त सहमति भएको थियो। आज सहमतिबाट पछि हटेर काम गर्ने? बालुवाटारमा बस्ने ५ दलको संयन्त्र कुन धारा अन्तर्गतको संयन्त्र हो? त्यसले जे फैसला गर्छ त्यो संविधान भन्दा माथि हुन्छ?’, उनले भने, ‘यदि त्यस्तो हो भने राजतन्त्र किन समाप्त गरेको? ५ दलीय अमिर छन् नि कतिपय देशमा त्यस्तै संयन्त्र बनाउने प्रणाली गरे हुँदैन? नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य हुँदैन।’









































