काठमाडौं, 18 अगस्त 2022
नेपाली कांग्रेसका नेता गगन थापाले अंगीकृत नागरिकताका विषयमा विधेयकमा व्यवस्था नै नभएको विषयमा बढी चर्चा भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले वैवाहिक अंगीकृतको सन्दर्भमा साझा धारणा बनाउन ठिक भएको बताए । “वैवाहिक अंगीकृत नागरिकताका विषयमा ४० वर्षदेखि एउटा व्यवस्था छ । त्यो व्यवस्थालाई यो विधेयकले छोएको छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा पनि छोएको थिएन । यो विधेयकले व्यवस्था गरेको छैन,” उनले भने,“ त्यही विषयमा बढी चर्चा गरिरहेका छौँ । नछोएको कुरामा बहस भइरहेको छ ।” उनले यो संसद सकिसकेपछि पनि नागरिकता विधेयक आउनैपर्ने बताए । उनले भने “थुप्रै कुरा छुटेका छन् । अहिले सरकारले ल्याउँदा छुटेको छ । विधेयकले नछोएको कुरा भोलि आउने नै छन्,” ।









































