काठमाडौं, 19 अगस्त 2022
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत गर्न नसक्नेहरूले साँठगाँठ गरिरहेको बताएका छन्। दक्षिणी झापाको कचनकवल गाउँपालिका-६ स्थित बनियानीमा बिहीबार आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक्ला एक्लै लड्न नसक्ने भएर गठबन्धन गरेर एमालेसँग लड्न खोज्दैछन्, अपवित्र साँठगाँठको नाम हो गठबन्धन।’ गठबन्धनमा ८/१० वटा दल पुगेको हुनसक्ने बताउँदै उनले अरू मान्छे जुटाउँदा पनि एमालेलाई केही फरक नपर्ने बताए। ओलीले भने, ‘जस्तो सुकै गठबन्धन बनोस् त्यसलाई एमालेले पराजित गर्नेछ।’ त्यसकारण उच्च मनोबल लिएर, जित्छु भन्ने विश्वास लिएर अगाडि बढ्न यसै मञ्चबाट सबैलाई आग्रह गर्न चाहन्छु।’ आफूले सरकार बनाउनका लागि एमालेले जित्ने नभएको बताउँदै उनले देशलाई बर्बादीबाट बचाउन जित्न पर्ने बताए।









































