काठमाडौं, 20 अगस्त 2022
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताएका छन्। शनिबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्।
संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको विधेयक फिर्ता आए पनि पुनः पठाइने मन्त्री कार्कीले बताए । उनले योपटक भने नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताए । उनले राष्ट्रपति र संसद् टकरावतिर लाग्न नहुने भन्दै सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्नेमा जोड दिए ।
उनले भने, ‘नागरिकता विधेयकलाई संसद्को दुवै सदनबाट पारित गराएर राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाइएको थियो । तर अहिले राष्ट्रपतिजीले केही सुझावसहित त्यो विधेयकलाई फिर्ता गर्नुभएको छ । त्यो विधेयकलाई फेरि प्रतिनिधिसभाले अगाडि जसरी पारित गरेको थियो । त्यसरी नै पारित गरेको छ । अब राष्ट्रियसभामा पारित हुनेछ । कतिपय पत्रपत्रिकामा मैले देख्ने गर्छु । कतिपय ठाउँहरुमा मैले टिप्पणी भएको सुन्ने गरेको छु । अब संसद र राष्ट्रपतिको बीच टकराव आयो । यो टकरावको बेला होइन ।’
‘हामीले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर लिएर जानुपर्ने अहिलेको हाम्रो मुलुकको जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्नका निमित्त संविधानले जुन परिकल्पना गरेको छ । राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार छ, त्यसैले भन्ने गरिन्छ राष्ट्रपति संस्थाबाट गल्ती हुँदैन । अब चाँडै नै राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकताविहीनको समस्या अन्त्य हुनेछ ।’
उनले चाँडै नै राष्ट्रियसभाबाट समेत विधेयक पारित भएपछि नागरिकताविहीनको समस्या अन्त्य हुने बताए ।









































