काठमाडौं, 6 सितंबर 2022
राष्ट्रिय सभा बैठकमा कारागार विधेयक, २०७६ पारित भएको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीहरुको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताए । उनले जन्मकैदको सजाय, तेजाब आक्रमण , जबर्जस्तीकरणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागु औषधको ओसार पसार, सम्पती शुद्धीकरण, संगठित अपराध लगायतका २० वटा भन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने स्पष्ट पार्नुभयो । उनले भने, ‘आचरण र व्यवहार सुधारेका बन्दीहरुलाई ५० प्रतिशत उनीहरुले कैद भुक्तान गरिसकेपछि उनीहरुलाई कैद मिनाहा गर्ने अवसर मिलोस् नै भन्नेमा हामीहरु छौँ । प्रत्येक जेलमा त्यो जेलको संरचनाभन्दा बढी बन्दी छन् । त्यसकारणले आचरण सुधारेकालाई छोड्न पायो भने अलि त्यहाँ सहज हुन्थ्यो कि भन्ने त्यहाँ भित्र पनि छ । बाहिर हाम्रो मानसिकतामा पनि छ । तर, यो कैद कट्टी गर्ने बारेमा बन्दीहरुले कैद कट्टीको लागि बन्दीहरुले प्रयत्न गर्नु त स्वभाविकै हो । तर, नकारात्मक सूची छ । नकारात्मक सूचीमा परेकाहरुलाई गर्नै मिल्दैन । सायद तिनीहरुलाई थाहा छैन कि । २० वटा भन्दा बढी मुद्दामा कैद मिनाहा गर्नै मिल्दैन ।’









































