काठमाडौं, 12 सितंबर 2022
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सरकार देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको दाबी गरेका छन् ।नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले राजनीतिक, धार्मिक र सामाजिक, साँस्कृतिक हिसाबले पनि वर्तमान गठबन्धन सरकार देश र जनताका लागि घातक रहेको आरोप लगाए। जनकपुरधाममा सोमबार बोल्दै अध्यक्ष ओलीले गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए। उनले मंसिर ४ गते देशले ज्यादै महत्वपूर्ण निर्णय गरिरहेको बताउँदै यस निर्वाचनले देशको भाग्य र भविष्य कोर्ने दाबीसमेत गरे। ओलीले भने, ‘आगामी मंसिर ४ मा हुने निर्वाचनले देश कता जाने भन्ने सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिनेछन्।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बनाउन उनले आग्रह गरे।









































