काठमाडौं, 22 सितंबर 2022
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् । पूर्वमहानिरीक्षक खनाल बिहीबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई स्वागत गर्नका लागि एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू कार्यक्रममा उपस्थित थिए । एमाले प्रवेश गर्दै खनालले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताए। देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ। आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताए। विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले काम गरेको बताउँदै उनले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको बताए। साथै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्को पाउन नसकेको उनले बताए।









































