काठमाडौं, 24 सितंबर 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमा अध्यक्ष प्रचण्डले अब पुरानो खालको जनयुद्ध सम्भव नभएको र समाजवादको निर्माणका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक छ । पुरानो जनयुद्ध त सम्भव पनि छैन । समाजवादको २१ औं शताब्दीको नयाँ मोडेल हामीले पत्ता लगाउनुपर्नेछ ।’ प्रचण्डले कुन पार्टीले कति सिट ल्याउने त्यो महत्वपूर्ण विषय नभएको बताए । उनले भने, ‘मूख्य कुरा संविधान कार्यान्वयन हो । समृद्धिको नयाँ मोडेल हामीले दिन सक्नुपर्छ । अबको दशक एक ठाउँमा केन्द्रित भएर विकासको नयाँ मोडेल दिएर संसारबाट बिदा हुने सपना हामीले बनाएका छौं ।’ प्रचण्डले आफूले एमालेसँग एकता गरेर नयाँ प्रयोग गरे पनि सफल नभएको बताए ।









































