काठमाडौं, 28 सितंबर 2022
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चौधरीले कांग्रेसको सदस्यता लिएकी हुन् । स्रोतका अनुसार काँग्रेसले नेतृ चौधरीलाई सर्लाही–४ मा टिकट दिने निश्चित भएको छ । सर्लाही–४ मा डा. अमरेशकुमार सिंहले टिकटको दावी गर्दै आएका थिए । चौधरी पार्टी प्रवेश गरेपछि नेता सिंहले टिकट नपाउने लगभग निश्चित भएको छ । चौधरी २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन् । उनलाई साविकको तमलोपा अध्यक्ष महन्थ ठाकुरले खेलकुद सहायकमन्त्री समेत बनाएका थिए । २०७४ सालको निर्वाचनमा पनि उनी महोत्तरीबाट साविकको राजपाबाट समानुपातिक सांसद बनेकी थिइन् । केपी ओली सरकारमा उनी पनि १८ दिनको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन् । यसअघि उनी माइती महोत्तरी–३ बाट सांसद बन्दै आएकी थिइन् । तर, अब उनले लोसपा त्यागेर आफ्नो घर रहेको सर्लाही जिल्लाबाट प्रतिनिधि सभामा उम्मेदवारी दिने चर्चा चलेको थियो । लोसपाका कार्यकारिणी सदस्य समेत रहेकी नेतृ चौधरी अध्यक्ष महन्थ ठाकुर निकट हुन् । यसपटक समानुपातिकमा नपरेपछि उनी काँग्रेसमा प्रवेश गरेकी हुन् । चौधरीको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ डा.आरजु देउवा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।









































