काठमाडौं, 29 सितंबर 2022
मुस्लिम आयोगले हिन्दू नेपालीहरूको महान चाड दशैंको अवसरमा शुभकामना दिएको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कार्यालयमै एक कार्यक्रमको आयोजना गरी दशैंको शुभकामना दिएका हुन् । बिहीवार दशैं एवं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले नेपालमा जातीय, धार्मिक तथा साम्प्रदायिक एकता र सद्भाव रहेको बताए । उनले देशभित्र धार्मिक र सामुदायिक सद्भाव भड्काउन गलत तत्वहरूले प्रयास गरिरहे पनि उक्त प्रयास सफल नहुने दाबी गरे ।
उनले भने, हाम्रो देश बहुभाषी, बहुजाति, बहुधर्म, एक आपसमा मिलेर बसेका, विभिन्न जातजातिहरु मिलेर बसेको देश हो । हिन्दु समुदायको महान पर्वमा मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको छुट्टै भिन्नता छ । यो कार्यक्रमको मुख्य उद्देश्य हाम्रो सामाजिक सद्भाव, धार्मिक सहिष्णुता त्यसमा थप मद्दत पुगोस् भनेर हो । जुन हाम्रो समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्यमा टेवा पुगोस् भनेर कार्यक्रम आयोजना गरेका हौँ । हामी सबै नेपाली हौँ, मानव हौँ । समग्र देशको, नेपालीको हीतको काम हामी सबै मिलेर गर्नुपर्छ ।’









































