काठमाडौं, 10 अक्टूबर 2022
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वतावरणमा सम्पन्न हुने बताएका छन् । मन्त्री कार्कीले आज सञ्चारकर्मीसँग आगामी निर्वाचनपछि मुलुकमा विकास, समृद्धि, सुशासन, शान्ति स्थायित्य र आर्थिक स्थिरता कामय हुने बताए । अबको सरकारले देशबाट बेरोजगारी र गरिबी अन्त्यका लागि काम गर्ने बताए । संविधानको रक्षा गरी आन्तरिक एकतालाई मजबुत पार्ने काममा सरकार लागिपरेको उनले बताए । आफू निर्वाचित भएको यस क्षेत्रलाई उत्कृष्ट क्षेत्र बनाउने काममा लागेको र अब फेरि पनि त्यसलाई पूर्ण सार्थक पार्नका लागि काम गर्ने योजना रहेको मन्त्री उनले बताए। आफू भाषणमा मात्रै नभई दस्तावेजसहित यथार्थमा काम गर्ने र राष्ट्रिय हित र जनताको मन जित्ने काम गर्ने बताए। शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायातसहितका क्षेत्रका कामहरुलाई पूर्णता दिनका लागि काम गर्ने मन्त्री कार्कीले उल्लेख गरे । प्रतिनिधिसभामा आफ्नो पाँचवर्षे कार्यकाल अन्तर्गत विश्व नै कोरोना महामारीका कारण डेढ वर्ष पूर्ण प्रभावित भएको र बाँकी समय आफूले राम्रो काम गरेको दाबी पनि उनको थियो । उनले काँग्रेस सरकारले नागरिकका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्ने बताए। मन्त्री कार्कीले आफूहरूले गरेको कामको अध्ययन गरी सही मूल्याङ्कन गरिदिन नेपाली जनतालाई आग्रह गर्दै अगामी दिनमा कसरी काम गर्ने भन्नेबारेमा स्पष्ट धारणाका साथ जनताका घरदैलैमा भेटभाट गर्न आफू जाने पनि बताए। आगामी निर्वाचनमा आफू विजयी भएसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, गरिबी निवारण र रोजगारीको सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको मन्त्री कार्कीले बताए ।









































