काठमाडौं, 12 अक्टूबर 2022
नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीले समर्थन नगर्ने भएको छ । गौतमले आज विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्ताहरुलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न आह्वान गरेका छन् । यी दुवै गठबन्धनको उच्चतम् उद्देश्य संसदमा आफ्नो पक्षको बहुमत बनाएर आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्ने वाहेक अरु केही रहेको नदेखिएको गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धन दुबै बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाको विरुद्ध भएको गौतमको ठहर छ । यी गठवन्धनका कृयाकलापले नेपालको संविधानको अक्षर र भावनाको खिल्ली उडाएको भन्दै उनले भने, ‘यस्तो अवस्थामा हाम्रो पार्टीले कुनै पनि पार्टीलाई समर्थन गरेर मतदान गर्न सकिने अवस्था रहेन । उपरोक्त परिस्थिति र आफ्नो अवस्थालाई ध्यानमा राखेर हामी पार्टीका नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तकहरुलाई स्वविवेक प्रयोग गरी मतदान गर्न अनुरोध गर्दछौं ।’









































