काठमाडौं, 13 अक्टूबर 2022
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएपछि मतदाताको भरोसामाथि कुठाराघात नगर्ने प्रतिवद्धता जनाएका छन्। बिहीबार काठमाडौं–५ ले आयोजना गरेको क्षेत्रीय प्रतिनिधि भेलामा सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।
पौडेलले भने, ‘मलाई विशवास गर्नुस्, तपाईंको विश्वासलाई, भरोसालाई मैले कुठाराघात गर्ने छैन। तपाईंको सांसदको रुपमा मैले देशमा प्रभावकारी भूमिका निर्वाह गर्ने छु। तपाईंको शिर निहुरिने, तपाईंलाई लाज हुने स्थिति मैले निर्माण गर्ने छैन। गर्व हुने स्थिति निर्माण गर्ने छु’ ।
उनले काठमाडौंले देश बनाउने नेता र विकृतिहरु अन्त्य गर्ने गरि अगाडि बढेको नेतृत्वलाई विश्वास गर्ने सहरका रुपमा चर्चा गर्दै राजनीतिमा रहेको विकृति सफा गर्ने आफ्नो पहिलो उदेश्य भएको बताए। संघीय राजधानी काठमाडौंलाई सफा गर्ने आफ्नो दोस्रो उदेश्य भएको पौडेलको भनाइ थियो। संसारको प्रदुषित सहरका रुपमा परिचित काठमाडौंलाई सफा गरेर स्वच्छ, सफा, हराभरा र सुन्दर सहरका रुपमा परिणत गर्नका निम्ति विशेष योजनाहरु ल्याउने पनि उनले बताए।
पौडेलले खोलाका दुवै किनारमा करिडोर निर्माण गरेर काठमाडौंको ट्राफिक जामलाई अन्त्य गर्न विशेष योजना ल्याउने पनि बताए।









































