काठमाडौं, 14 अक्टूबर 2022
कर्णाली प्रदेशका चार जिल्लाका विपद् प्रभावित क्षेत्रलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाई सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गरी थप जनधनको नोक्सानी हुन नदिन कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोटका विपद् प्रभावितक स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । बैठकले वैदेशिक लगानीकर्ताहरूकालागि न्युनतम लगानीको सीमा दुई करोड रुपैयाँ तोकेको छ भने विद्यालय क्षेत्र सुधार आयोजनाका लागि प्राप्त हुने एसियाली विकास बैंकबाट प्राप्त हुन २ सय मिलियन अमेरिकी डलर आर्थिक सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिने निर्णय गरेको छ । सोबारे दातृ निकायसँग बार्ताकालागि सरकारले अख्तियारी दिने निर्णय गरेको छ । बैठकले पूर्ण प्रतिबन्ध लगाइएका चार प्रकारका वस्तुको पैठारीको म्याद शुक्रबार सकिएकोमा, ती बस्तुको पैठारीमा लगाइएको बन्देज आगामी मंसिर मसान्तसम्मको लागि निरन्तरता दिने निर्णय गरेको छ ।










































