काठमाडौं, 15 अक्टूबर 2022
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन् । शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रवक्ता महतले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताए । उनले देशमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने र पर्यटन प्रवद्र्धन देशभर गर्ने काम गठबन्धनबाट नै सम्भव रहेको बताए ।
उनले भने– ‘देशमा अब समृद्धिको विकल्प छैन । नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुछ । रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गर्नुछ । त्यसका लागि समृद्धि आवश्यक छ । समृद्धिका लागि लगानी आवश्यक छ । लगानीको लागि लगानीमैत्री वातावरण आवश्यक छ । सुशासन, स्थायित्व आवश्यक छ । त्यसका लागि गठबन्धनको बाटोमा हामी छौँ । यसले लय पनि समातेको छ । गठबन्धनमा रहेर हामीले निर्वाचन जित्यौँ भने, देशले लय समात्छ ।’
उनले भने, ‘देशमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात गर्ने काममा लाग्नेछौँ । अब परनिर्भरतालाई समाप्त गर्ने हो । अब हामी पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने हो । त्यसको लागि अब विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धन देशभर नै गर्न आवश्यक छ ।’
प्रवक्ता महतले संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन बनेको जिकिर गर्दै पार्टीको केन्द्रिय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हुन आवश्यक भएको बताए । उनले नेपालमा शान्तिको नारा अहिलेको लागि महत्वपूर्ण नरहेको बताए ।









































