काठमाडौं, 18 अक्टूबर 2022
बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग सरकारी वकिलको कार्यालयले लिएको बयान सकिएको छ । सन्दीपले आफू काठमाडौंको होटलमा पीडित भनिएकी युवतीसँग भदौ ५ गतेको रातिमा सँगै बसेको स्वीकारेका छन् ।
तर, बलात्कार भने नगरेको बयान उनले दिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले संचार माध्यमलाई जनाएका छन् ।
‘उहाँ (सन्दीप)ले आफू होटलमा गएको कुरा स्वीकार्नुभएको छ, तर बलात्कार भने नगरेको उहाँको जिकिर छ,’ ती अधिकारीले भने, ‘उहाँ होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरको छ ।’ प्रहरी अधिकारीका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् ।
उनले घुम्न जाने र बस्ने सबै कुरा पीडित किशोरीको सहमतिमा भएको बयान दिएका छन् । सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै कोठामा बस्नु बाध्यता भएको पनि बताएका छन् ।
सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसीटीभी फूटेज देखाएको थियो । फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो ।
सन्दीपका अधिवक्ताहरूले पीडित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।२३ गते म्याद थप भएपछि अदालतबाट बाहिर निस्कने क्रममा सन्दीप लामिछानेकी अधिवक्ता सुधा रिमालले आफूहरूसँग पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण रहेको दाबी गरेकी थिइन् ।
प्रहरीले सन्दीप लामिछानेलाई दोस्रोपटक म्याद थपका लागि असोज २७ गते जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
पहिलोपटक असोज २० गतेबाट लागू हुने गरी ७ दिनको म्याद सकिएपछि २७ गते अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको थियो ।









































