काठमाडौं, 21 अक्टूबर 2022
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । शुक्रबार राष्ट्रपति भवनमा आयोजित समारोहमा उहाँले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन । ओहोदाको प्रमाणपत्र पेश गरेपछि नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार राजदूत थम्पसनले जारी गरेको वक्तव्यमा नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो सम्मानको विषय भएको बताएका छन् ।
राजदूत थम्पसनले भने, ‘‘यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौमसत्ता र साझा मूल्य मान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबीचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु ।’’
आगामी वर्षमा अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न सहयोग गरिरहनेछ भन्दै उनले भने, ‘‘अहिलेको क्षण हाम्रा दुई मुलुकका लागि महत्त्वपूर्ण क्षण हो र म हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु । जलवायु सङ्कटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा हामी नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्नेछौँ ।’’









































