बुटवल, 22 अक्टूबर 2022
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकले इतिहासकै ठूलो आर्थिक समस्याको सामना गर्नुपर्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिवार बिहान बुटवलमा उद्योगी/व्यवसायीको भेलालाई सम्बोधन गर्दै रूपन्देही–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुकमा आर्थिक संकट गहिरिएको दाबी गरे । भूकम्प, भारतीय नाकाबन्दी तथा कोरोना भाइरसको महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट वर्तमान सरकारको कारण मुलुकले भोग्न बाध्य भएको पौडेलले बताए । विगतमा नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको शुरूआत गर्नु नै आर्थिक संकटको पहिलो कारण भएको उनको भनाइ छ ।
उनले भने, ‘सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने तथा श्रमिकको घरमा आगो नबल्ने अवस्था आयो,’ ‘मुलुकमा चरम मूल्यवृद्धि भएको छ । म अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले बढेर ८ दशमलव १ प्रतिशतमा पुगेको छ ।’
गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहीत व्यक्तिको स्वार्थ पूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पौडेलले बताए । सरकारले बैंकको ब्याजदरमा उच्च वृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै पौडेलले उनीहरूको माग पूरा गराउनका लागि आफ्नो साथ सधैं रहेको बताए ।
कोरोना महामारीले धरासायी भएका निजी क्षेत्र तथा उद्योगी व्यवसायीलाई सरकारबाटै ढाडमा हान्ने काम भएको भन्दै पौडेलले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु तथा ब्याजदर वृद्धिको कडा आलोचना गरे ।









































