काठमाडौं, 2 नवम्बर 2022
निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहीता भित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ। प्रतिनिधि सभा र प्रदेश सभा मंसिर ४ गते हुने निर्वाचनका लागि कार्तिक १७ गते (भोलि) देखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो। बुधबार संचार माध्यमसंग कुराकानी गर्दै निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानून, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहीता प्रतिकुल हुनेगरी सभा, समारोहहरु नगर्न आग्रह गरे। । निर्वाचन आचारसंहिताले तोकेको ढाँचामा मात्रै पर्चा तथा पम्प्लेट बनाउन पनि उनले आग्रह गरे। राजनीतिक दलहरुले अर्काको कार्यक्रम बिथोल्न लागेमा र अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाहीको भागिदार हुने उनले स्पष्ट पारे। उनले राजनीतिक दलहरुले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने प्रावधानलाई कडाईका साथ पालना गर्नपनि सचेत गराए। उनले व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनैपनि शब्दहरु उच्चारण नगर्न, प्रचारप्रसार गर्ने क्रममा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, झोला लगायतका निर्वाचनसँग सम्बन्धित दलको चिन्ह प्रयोग भएका सामग्रीहरु प्रयोग नगर्न पनि सचेत गराए।









































