काठमाडौं, 3 नवम्बर 2022
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाच प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताएका हुन् । प्रचण्डले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको पनि बताए ।
अध्यक्ष दाहालले नेताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा शुरु भएको अनुभुति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने बताए । उनले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको बताए ।
उनले भने, ‘मेरो गोरखा आगमनलाई मैले ठूलो चुनौती र अवसरको रुपमा लिएको छु । चुनौती गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको सन्दर्भमा वा राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भुमिका छ । जुन दूरगारी रणनैतिक भुमिका छ । त्यो भुमिका खेल्ने जनताको भावनालाई मैले उचित सम्मान गर्न सक्छु की सक्दिन भन्ने चुनौती जस्तो मलाई महशुस भइराख्छ । गोरखाली जनताको अपेक्षामा म खरो उत्रिनसक्छु की सक्दिन भन्ने चुनौती ठानेको छु । गोरखाको ऐतिहासिक परम्परालाई अघि बढाउने र राज्यको एकतावद्ध गराउने अवसरको रुपमा र नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने एउटा ठूलो अवसरको रुपमा पनि मैले गोरखामा मेरो उम्मेदवारीलाई लिएको छु । यसलाई सफलतापूर्वक कार्यसम्पादन गर्नसकेँ वा हामी सबै मिलेर सम्भव छ । यो निर्वाचन सामान्य निर्वाचनको रुपमा नलिदिनुहोला । नेपाल एकपटक फेरि निरंकुशता, अराजकता, प्रतिगमनतिर जाने की ठूलो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्ने भन्ने कुराको लडाईं हो ।’









































