डडेल्धुरा, 5 नवम्बर 2022
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकास गर्नु आफ्नो कर्तव्य रहेको बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक गठबन्धनद्वारा डडेल्धुराको अजयमेरु गाउँपालिकामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
आफू पाँच पटक देशको प्रधानमन्त्री भइसकेकाले अब देशको समृद्धि र सुदूरपश्चिमको विकासको पक्षमा लाग्ने बताउनुभयो । डडेल्धुरामा पर्यटकीय सडक निर्माण गरी अन्य जिल्लाभन्दा डडेल्धुराको विकासमा बढी जोड दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
डडेल्धुरामा एयरपोर्ट निर्माण, मेडिकल कलेज सञ्चालनलगायतका महत्वपूर्ण काम मेरो पालामा नै सम्पन्न गर्ने धोको रहेको बताउनुहुँदै अबको मेरो काम भनेकै देशको विकास र समृद्धि ल्याउने रहेको उहाँले बताउनुभयो ।









































