काठमाडौं, 17 नवम्बर 2022
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक भिडियो सन्देश जारी गर्दै भोट मागेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उनले मतदान गर्नुअघि आफ्नो र आफ्ना छोराछोरीको भविष्य सम्झिन आग्रह गर्दे भोट मागेका हुन् ।
राष्ट्रियहित, स्वाधिनता, स्वाभिमानको रक्षा र स्थिर सरकारका लागि मंसिर ४ गते एमालेलाई मतदान गर्न पनि ओलीले अपिल गरेका छन् ।
उनले भनेका छन्, ‘भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला । पहिलो तपाईँको आफ्नै भविष्य र दोस्रो तपाईँका छोराछोरीको भविष्य ।’ उनले आफू झुटो नबोल्ने र सत्य नछोड्ने पनि बताएका छन् । ‘म झुटो बोल्दिँन, सत्य छोड्दिँन । तपाईँलाई थाहा छ म पटक पटक मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ ।’
अध्यक्ष ओलीले अहिले देश केही व्यक्ति र समूहको स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको बताउँदै गठबन्धनको कुनै राष्ट्रिय उदेश्य नभएको र गठबन्धन रहिरहे मुलुक बर्बाद हुने जिकिर गरे ।









































