लमजुङ, 26 नवम्बर 2022
सुन सफा गरिदिन्छु भन्दै ठगी गर्ने भारतीय नागरिकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । सुनको गहनालाई सफा गरिदिने भनी रासायनिक पदार्थ प्रयोग गरेर ठगेको आरोपमा भारतको बेगुसराई जिल्ला, नावकोठी १०, बिहारका २४ वर्षीय विवेक कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मर्स्याङ्दी गाउँपालिका ३ खुदीमा तीन जना महिलाले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाएर विभिन्न रासायनिक पदार्थको प्रयोगबाट सुन सफा गर्ने नाममा ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
पक्राउ गरेर ल्याइएका ती युवकलाई बिहीबारदेखि लागू हुने गरी शुक्रबार जिल्ला अदालत लमजुङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । ती युवकका साथबाट प्लाष्टिकका बोत्तलहरूमा राखिएका विभिन्न रसायनहरू पनि बरामद गरेको प्रहरीले जनाएको छ ।









































